काठमाडौं । गैरआवासीय नेपाली संघका पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई भेटी सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न सुझाव दिएका छन् ।
वैदेशिक रोजगारमा भएका नेपालीहरुले दुर्घटना वा प्राकृतिक रुपमा मृत्युवरण गर्दा पाइने बीमा वापत्को २० लाख रकम न्यून रहेको भन्दै एनआरएनएले त्यसलाई ५० लाखसम्म पुर्याउनुपर्ने माग गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै एनआरएनएका उपाध्यक्ष आरके शर्माले गोकर्ण विष्ट श्रममन्त्री भएको बेला गरिएका सम्झौता कार्यान्वयन नभएको बताउनुभयो ।
तत्कालीन मन्त्री विष्टका पालामा भाषिक ज्ञानको अभावले जेल जीवन बिताइरहेका नेपालीहरुलाई मुद्धा लड्नका निम्ति एमबीसीका तर्फबाट १५ लाखसम्मको कानूनी सहायता कार्यान्वयन नभएको उपाध्यक्ष शर्माको भनाइ छ । विदेशिएका युवाहरु दीर्घारोग बोकेर ३० वर्षपछि खाली हात नेपाल फर्किँदै गर्दा उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रमले राहत हुनेगरी कार्य अगाडि बढाउनुपर्ने शर्माको भनाइ छ ।
एनआरएनएका अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्री केशी, उपाध्यक्षद्वय आर. के. शर्मा र नरेन्द्र भाटको टोली मन्त्री कुवँरलाई भेटेको थियो । भेटघाटका क्रममा पदाधिकारीहरुले संघले नेपाल सरकार र सरोकारवालाहरुको सहकार्य समन्वयमा वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको विषयमा भइरहेका गतिविधि तथा हाल विद्यमान रहेका समस्याहरु बारे ध्यानाकर्षण समेत गराएका छन् ।
संघले कोभिड–१९ को बेला श्रमिकहरुलाई गरेका उद्धार तथा राहत कार्यक्रमहरुका बारेमा पनि मन्त्रीलाई जानकारी गराएका थिए । पदाधिकारीहरुले वैदिशक रोजगारीलाई लक्षित गरेर खडा गरिएको १० अर्बको लगानी बारेमा पनि जानकारी गराएका थिए । साथै पदाधिकारीहरुले थाईल्याण्डमा आयोजना हुन लागेको ९ औं एशिया क्षेत्र भेलामा प्रमुख आतिथ्यताको लागि अनुरोध गर्दै निमन्त्रणा पत्र माननीय मन्त्रीलाई दिएका छन् ।
मन्त्री कुँवरले संघले वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा गरेका कार्यहरु प्रति धन्यवाद प्रकट गर्नुभयो । वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार कटिबद्ध रहेको मन्त्री कुँवरको भनाइ थियो ।