काठमाडौं । नेपाली कांग्रेसले आमनिर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहमा गरेको तालमेल आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा पनि रहने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आम निर्वाचनमा सिटको भागबण्डाबारेमा अहिले नै छलफल भइनसकेकोे बताउनुभयो । पार्टीको आम भावना, संगठनको स्थितीलगायतका कुरालाई मध्यनजर राखेर सम्बन्धिन गठबन्धनबीच छलफल भएपछि मात्रै सिटबारे निश्कर्षमा पुग्ने प्रवक्ता महतको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘कहाँ कस्को प्रभाव कस्तो छ, त्यसरी सिट बाँडफाँट गर्दाखेरी नतिजामा के कस्तो असर पर्छ, मुख्य कुरा त निर्वाचनमा जानु भनेको जित्ने हो, यीनै कुरालाई मध्यनजरमा राखेर हामी निर्णय गर्छौ । ’
अहिलेको समानुपातिक निर्वाचन प्रणालीमा दल एक्लैले बहुमत ल्याउन कठिन रहेको बताउँदै उहाँले यस्तो अवस्थामा गठबन्धनसँगै निर्वाचनमा जान आवश्यक रहेकोमा जोड दिनुभयो ।