काठमाडौं । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले आइतबारदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्र संकलन गर्न थालेको छ ।
यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो । नगर प्रमुख बालेन्द्र साह फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन आग्रह गर्दै नागरिकको घरदैलोमा पुगेका थिए ।
आइतबार महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो । कुहिने र नकुहिने फोहरलाई फरक–फरक राखे व्यवस्थापनमा ठुलो सहयोग हुने विश्वास महानगरको छ ।
महानगरले संकलित फोहर उठाउनका लागि दिन तय गरेको छ । यसअनुसार पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहर संकलन गरिनेछ भने मंगलबार र शुक्रबार नकुहिने फोहर उठाइनेछ ।
यसरी संकलन गरिएको फोहरको प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पनि छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ । महानगरको आग्रहलाई बेवास्ता गरी एकै स्थानमा राखिएको फोहर व्यवस्थापनका लागि लगेमा ५ सय रुपैयाँ जरिबाना गरिने छ ।
जैविक फोहरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । कुहिने तर पुनःप्रयोगमा आउन सक्ने फोहरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहरलाई बेचेर आयआर्जन गर्नेतर्फ ध्यान दिन महानगरले नागरिक समक्ष आग्रह गरेको छ ।