Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेरबहादुरजीलाई हराउन कसैले सक्दैनन्, म ग्यारेन्टी दिन्छु कि रामचन्द्र दाइले पनि सक्नुहुन्नः शशांक कोइराला

शेरबहादुरजीलाई हराउन कसैले सक्दैनन्, म ग्यारेन्टी दिन्छु कि रामचन्द्र दाइले पनि सक्नुहुन्नः शशांक कोइराला

  • सोमवार, भाद्र ८ २०७७

  • 1.4K
    SHARES

  • शेरबहादुरजीलाई हराउन कसैले सक्दैनन्, म ग्यारेन्टी दिन्छु कि रामचन्द्र दाइले पनि सक्नुहुन्नः शशांक कोइराला


    काठमाडौँ – तोकिएको समयमा महाधिवेशन हुने सम्भावना लगभग समाप्त भइसकेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापतिका आकांक्षीहरुले तयारी तीव्र पारेका छन्।

    कांग्रेसले आगामी फागुन ७ गतेदेखि १४ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ तर कोरोना कहरका कारण आन्तरिक तयारीहरु हुन नसकेपछि फागुन ७ का लागि तोकिएको महाधिवेशनको मिति सर्ने भने निश्चित प्राय छ।

    यद्यपि कोरोना कहरकैबीच कांग्रेसको आसन्न महाधिवेशनपछि नेतृत्व हत्याउन नेताहरुले जोडबल गरिरहेका हुन् । प्रतिकुल परिस्थितिका कारण देशदौडाह गर्न नसकेपनि सभापतिका आकांक्षीहरु प्रविधिको प्रयोग गरी देशभरका नेता कार्यकर्तासँग छलफल गरिरहेका छन्।

    कांग्रेसको संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवासहित नेताहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले सभापतिको दाबी गरेका छन् भने संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहित दर्जन बढी नेताहरुले दाबी गरिरहेका छन्।

    सभापतिका आकांक्षी धेरै भएपछि शेरबहादुर देउवालाई समिकरण मिलाउन सकस भइरहेको छ। नेता बिमलेन्द्र निधिले आफूले सभापतिमा उठ्ने जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेपछि देउवा तनावमा रहेको श्रोत बताउँछ।

    निधिले नेपाली रेडियो नेटवर्कलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले सभापतिमा उम्मेदवारी दिने र सहयोगका लागि देउवालाई आग्रह गरेको कुरा सत्य रहेको बताउनुभयो।

    प्रभाव बलियो रहेका नेता निधिले पनि सभापतिको दाबी गरेपछि दोस्रो पटक पार्टीको नेतृत्व हत्याउने दाउमा रहेका देउवामा तनाव बढेको छ। संस्थापन समूहबाट नेता गोपालमान श्रेष्ठले पनि सभापतिको दाबी पेश गर्नुभएको छ । श्रोतका अनुसार निधिको दाबीलाई मत्थर पार्न देउवाले नै श्रेष्ठलाई पनि सभापतिका लागि दाबी गर्न उचालेका हुन् । तर नेता श्रेष्ठले देउवापछि अब आफू नै पार्टीकोे सिनियर नेता रहेको बताउनुभयो । सभापतिको स्वतः दाबेदर आफूलाई कसैले उचाल्न आवश्यक नरहेको उहाँले बताउनुभयो । कांग्रेसमा अहिले आफ्नो आवश्यकता रहेको उहाँको दाबी छ।

    संस्थापन समूहमा सभापतिको उम्मेदबारका लागि आंकाक्षीहरुले दाबी पेश गरिरहँदा पार्टीमा देउवा शासनको अन्त्य गर्ने दाबी गरिरहेको संस्थापनइतर समूहमा त झन दर्जनौँ आंकाक्षीहरु देखिएका छन्।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाश मान सिंह, गगन थापा, कृष्ण सिटौला लगायतका नेताहरुले सभापतिमा उठ्ने तयारी गरेका छन्। तर महामन्त्री शशांक कोइरालाले देउवालाई परास्त गर्न सक्ने नेता अब आफूमात्रै रहेको दाबी गर्नुभयो। रामचन्द्र पौडेलले पनि अब देउवालाई परास्त गर्न नसक्ने ग्यारेन्टी दिन चाहेको बताउँदै उहाँले आफ्नो विकल्प नरहेको जिकिर गर्नुभयो।

    वर्तमान सभापति शेरबहादुर देउवाले कांगेसलाई सबैको पार्टी बनाउन नसकेको आरोप कोइरालाको छ। त्यसकारण पनि अब देउवालाई बिदा गर्नुपर्ने भएकोले संस्थापनइतर समूह मिल्नुको विकल्प नरहेको उहाँको धारणा छ।

    शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले तीनै तहको निर्वाचन हारेको, गुटगत राजनीति मौलाएको, तानाशाह प्रवृत्ति हाबी भएको विषयलाई संस्थापन इतर समूहले देउवाविरुद्ध प्रचारको हतियार बनाएको छ।

    तर संस्थापन समूहले भने देउवाको संघर्षका गाथाहरु लेख्दै प्रचार प्रसार थालेको विषयमा सामाजिक सञ्जालमा रोचक टिप्पणीहरु पढ्न पाइन्छ।


    सोमवार, भाद्र ८ २०७७०७:५३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij