काठमाडौं । प्रदेश –५ सरकारले भारतलगायत जिल्ला बाहिरबाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा वस्ने व्यवस्था पालिकास्तरमा मिलाउने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज आफू मातहतका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल मिटिङ गर्दै यस्तो निर्णय गर्नुभएको हो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रोे चक्र र शान्तिसुरक्षाको विषयमा केन्द्रीत रहेर महत्वपूर्ण छलफल भएको मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
त्यस्तै, परीक्षणको दायरा वढाउने, भिडभाड हुने ठाउँ र धेरै घुमफिर गर्ने व्यक्तिहरु पहिचानगरी नमुना परीक्षणलाई तिव्रता दिने तथा कोभिड १९ को व्यवस्थापनमा संलग्न सबैको समय समयमा परीक्षण गर्ने जस्ता निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी, कन्ट्राक ट्रेसिङको कामलाई उच्च प्राथमिकता दिने, छिटो रिजल्ट पाउनेगरी प्रयोशालासँग आवश्यक समन्वय गर्ने, भिटिएमको अभाव हुन नदिने तथा अभाव भएमा जिल्ला स्वास्थले खरिद गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
साथै, जिल्ला स्तरमा सबै संक्रमितलाई आइसोलेसनमा राख्नसक्नेगरी आइसोलेसन सेन्टरको व्यवस्था जिल्लास्तरिय सिसिएमसीले मिलाउने र व्यवस्थापन खर्च प्रदेशले उपलब्ध गराउनेलगायतका निर्णय भएका छन् ।