काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवले पार्टी नफुटेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वन तथा वातावरणमन्त्रीसमेत रहनुभएका यादवले बैठक बस्दैमा पार्टी फुटिहाल्ने नहुने भएकाले जसपा नफुटेको र नफुट्ने पनि दाबी गर्नुभयो ।
पछिल्लो समय जसपा फुटको संघारमा भन्ने चर्चाहरु आइरहेको बेला नेता यादवले यी सबै समाचारहरु भ्रामक भएको र जसपा नफुट्ने बताउनुभएको हो ।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले लगाएको आरोपहरु र गुनासाहरु बाहिर–बाहिर भन्नुभन्दा संयुक्त बैठक बोलाएर सोहि बैठकमै राख्दा उचित हुने र समस्याको समाधान गर्न सकिने मन्त्री यादवको भनाइ छ । बाबुराम पक्षलाई अलग्गै केन्द्रीय समितिको बिस्तारित बैठक राख्ने अधिकार समेत नभएको मन्त्री यादवे बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बाबुरामलाई छुट्टै केन्द्रीय समितिको बिस्तारित बैठक राख्ने विधानमै छैन, एकपटक विधान पढेर बुझ्न पर्छ, र मलाई यो बैठक राख्न अधिकार छ भनेर सोच्नुपर्छ । केन्द्रीय समितिको बिस्तारित बैठक राख्ने अधिकार मात्रै अध्यक्ष उपेन्द्र यादवलाई छ । बाबुरामलाई संघीय परिषद् बैठक मात्रै राख्ने अधिकार छ, केन्द्रीय समितिको बिस्तारित बैठक राख्ने अधिकार विधानमै छैन, उहाँलाई अधिकार नै छैन । ’