काठमाडौं । सुदूरपश्चिमका प्रदेशसभा सांसद कर्ण मल्लले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको छ । साथै सांसद मल्लले अहिलेको सरकार जस्तो दुर्लभ सरकार नेपालको इतिहासमै नभएको जिकिर गर्नुभएको हो ।
नेपाली नेटवर्कसँग कुरा गर्दै सांसद मल्लले प्रधानमन्त्री देउवाले नेतृत्व गरेको गठबन्धन सरकार सबै मोर्चामा असफल भएको दाबी गर्नुभयो । सांसद मल्लले यो सरकार सबै मोर्चामा फेल प्रमाणित भइसकेकोले अब एक मिनेट पनि सरकारमा बस्ने नैतिक अधिकार नभएको बताउनुभयो ।
सांसद मल्लले अहिले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलन देखा परेको बताउनुभएको छ । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीका लागि कम्फर्टेबल बन्ने बचनबद्धतासहित गठन भएको वर्तमान सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको बताउनुभयो ।
‘यो सरकारसँग विकास, सुशासन र समृद्धिको स्पष्ट योजना र त्यसलाई कार्यान्वयन गर्ने कुनै प्रभावकारी संयन्त्र छैन । नेपाली नेटवर्कसँग कुरा गर्दै सांसद मल्लले भने, यो सरकार छोटो समयमा नै पूर्ण रूपले असफल सावित भइसकेको छ । सरकार गठन भएको एक वर्ष पनि बितिसकेको छ । यस अवधिमा यो सरकारले आमजनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीको समस्या समाधान गर्ने गरी कार्यक्रम ल्याउन सकेको छैन । यी महत्वपूर्ण जनजीविकाको सवाललाई सम्बोधन गर्न गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको छ । सरकार बाटो बिराएको यात्री जस्तै भौंतारिरहेको छ ।’
सांसद मल्लले देशमा महँगी बढेको बढ्यै गर्दा पनि यो सरकार चुपचाप तमासा हेर्दै बसेको आरोप लगाउनुभयो । सरकारले राज्य कोषको चरम दोहन गरेको पनि उनले दाबी गर्नुभयो । यस्तै सांसद मल्लले यो सरकारलाई निरंकुशको संज्ञा दिनुका साथै जनविरोधी सरकारको उपाधि पनि दिनुभएको छ ।