काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी पदाधिकारी चयनका लागि १५ दिन पर्खनुपर्ने बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भन्नुुभयो, “पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीका लागि गृहकार्य गर्न भ्याउनुभएन । सहमतिका लागि अझै १५ दिनको समय माग्नुभएको छ ।
३७७ केन्द्रीय समिति बन्यो । १५ सदस्यीय पुरानो स्थायी समितिसहित ४१ जनाको नाम पढ्नुभयो । पोलिटब्युरोमा पुरानो र नयाँ लिस्ट पढ्दा केही कन्फ्युजन भयो ।”
उहाँले कृष्णबहादुर महरा महासचिवमा चयन नभएको पनि बताउनुभयो । “नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुनुभएको हो, महराजी महासचिव बन्नुभएको होइन । उहाँको स्थान नारायणकाजीपछिको उपाध्यक्ष होला ।” साहको भनाई छ ।