काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्रीमा सिफारीस भएका नामलाई धेरै कुराउनु राम्रो नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्रीमा सिफारीस नेता चौधरीले सिफारीस नामलाई २२ दिनसम्म कुराउनु र कार्यान्वयन नगर्नु राम्रो पक्ष नभएको बताउनुभएको हो ।
पार्टीले गर्नुपर्ने सिफारीस लगायत सबै प्रक्रिया पुरा गरिसकेको र बालुवाटारबाट सपथ ग्रहणबारे जानकारी नआउँदासम्म मन्त्री बन्ने नबन्नेबारे केहि भन्न नसकिने उहाँको भनाइ छ ।
हटाउने लिस्टमा परेका मन्त्रीले तत्कार नहट्ने अडान लिइहेको प्रसंगमा नेता चौधरीले भन्नुभयो, ‘उहाँहरुलाई पनि मन्त्री बनाउँदा सचिवालयको निर्णय थिएन, हाम्रो अध्यक्ष(माधव नेपाल)ले जिम्मेवारी लिएर उहाँहरुको नाम सिफारीस गर्नुभयो र मन्त्री बन्नुभयो । आज सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले अनुमोदन गरेको छ । यसलाई बेठीक कसरी भन्न सकिन्छ ? बरु पहिला मन्त्री बन्दा बेठीक भएको थियो । अहिले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय पार्टीको मूल्यमान्यता भित्रै कुरा हो । हिजो आफूहरु मन्त्री बन्दा सबै ठीक हुने अध्यक्षको हाईहाई हुने आज फिर्ता बोलाउदा बेठीक हुने अटेर गर्ने यो गलत प्रवृति हो ।’
पार्टीको निर्णय अन्तिम हुने र स्विकार गर्नुपर्ने नेता चौधरीको भनाइ छ । यस्तै उहाँले अहिले अटेर गर्नेहरुलाई पार्टीले सोच्नुपर्ने पनि बताउनुभयो ।