काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत खड्काले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अराजक भएको बताएका छन् ।
बजेटमा वित्तीय अनुशासन कायम नभएको र बजेट सन्तुलित पनि नभएको खड्काले दाबी गरेका छन् । नेपाली नेटवर्कसँग कुरा गर्दै सांसद खड्काले सरकारले सांसदहरूलाई नै बाइपास गरेर प्रदेशको बजेट ल्याएकोमा आपत्ति समेत जनाएका छन् ।
यस्तै खड्काले सरकारले ल्याएको बजेट जनविरोधी भएकै कारण जनमानसबाटै चौतर्फी रुपमा व्यापक विरोध पनि भइरहेको दाबी गरे ।
सांसद खड्काले बजेटमा भौतिक पूर्वाधार मन्त्रीको सेटिङ रहेको आरोप लगाएका छन् । नेपाली नेटवर्कसँग कुरा गर्दै खड्काले मन्त्रीको सेटिङकै कारण कुल बजेटको आधा बजेट भौतिक मन्त्रालयमा गएको बताए ।
‘प्रदेश सरकारले ३७ अर्बको बजेट ल्याएको छ । तर कुल बजेटको आधा बजेट अर्थात् ५१ प्रतिशत बजेट भौतिक मन्त्रालयलाई गएको छ,’ उनले भने, ‘यो बदनियत तरिकाले लिइएको हो । म दावाका साथ भन्न चाहन्छु,भौतिक पूर्वाधार मन्त्रीको यसमा सेटिङ छ ।’
यस्तै उनले प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्ट देखिए पनि सम्पूर्ण डिजाइन भने भौतिक मन्त्री दीर्घ सोडारीले गरिरहेको दाबी गरे । यस्तै प्रदेश सांसद खड्काले यो आर्थिक वर्षको बजेट एउटा होटेलको कोठामा गएर बनाएको आरोप लगाउँदै प्रदेश सरकार बिचौलियाको सरकार समेत भएको आरोप लगाए ।
गत असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । सडक पूर्वाधार, ऊर्जा, सिँचाइ तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ, आवास, सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न कुल बजेटको आधा बजेट १८ अर्ब २६ करोड ४७ लाख भौतिक मन्त्रालयमा विनियोजन गरेको छ ।