काठमाडौं । स्थानीय सरकारहरुले आज आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट सार्वजनिक गर्दैछन् ।
कानुनी व्यवस्थाअनुसार स्थानीय तहले एकसाथ आज बजेट ल्याउन लागेका हुन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।
यसअघि संघ र प्रदेश सरकारले बजेट ल्याइसकेका छन् ।केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।
यो व्यवस्था स्मरण गराउँदै संघीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गराएको थियो । समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ ।
यसअघि कतिपय पालिकाहरुले निर्धारित समयमा बजेट पारित गर्न नसक्दा वित्तीय अनुशासन कायम नभएको र पालिकाहरुले खर्च गर्न पनि नसकेको अवस्था थियो ।