काठमाडौं । स्वास्थ्य मन्त्रालयले भोलिदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदै छ । पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको हो ।
पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ । मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ । बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा खोप दिइने केन्द्रको भनाई छ । कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ ।
बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जानकारी दिएको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।
खोप कार्यक्रमका लागि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरिएको छ। घरनजिकको स्वास्थ्य चौकी, स्वास्थ्य कार्यालय, खोप केन्द्र वा स्थानीय तहको कार्यालयमा खोप लगाउने व्यवस्था गरिनेछ ।