काठमाडौं । पछिल्लो समय तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गरेको छ । विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित मंहगा गाडी लिएर जाने गर्दछन् ।
तर तनहुँको व्यास नगरपालिका वडा नम्बर १० वैरेनीमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्के । वैरेनीबाट ६ किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।
सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरू पनि टन्नै देखिए, केहीले त रोकेर सेल्फी पनि खिचे । बेहुलाको साथमा अरू ६ जना पनि साइकलमै थिए । अरू जन्ती बसमा ।
बेहुली लिन बेहुला साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दङ्ग परे । बेहुलीका बाआमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुसी भए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले भन्नुभयो ‘हेर्दा अनौठो मात्र हो, तर यस्तो कुराले धेरै सन्देश दिन्छ । हामीले त ताली बजाएर स्वागत गर्यौँ, सबैले केही सिक्न जरुरी छ ।’
सापकोटाले यसअघि ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उनी आफूलाई साइकल प्रेमी भन्छन् ।
‘म साइकल प्रेमी हुँ, स्वास्थ्यलाई पनि राम्रो हुने इन्धनको खर्च नहुने । सधैँ साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरूलाई केही न केही सन्देश दिन सकियो ।’