काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे प्रस्ट पार्न छलफलमा बोलाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय भएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो ।
आजको बैठकमा (एसपीपी) सम्झौताका विषयमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार छलफल भएको थियो । समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको हो ।
छलफलमा सांसदहरूले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए ।
उनीहरूले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताए ।
यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको बताउनुभएको थियो ।