कारोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, प्युठान, दोलखा, सर्लाही, वीरगञ्ज र विराटनगरका एक–एक जना रहेका छन् ।
जसमा पाटन अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना कोरोना संक्रमितको आज मृत्यु भएको हो ।
केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।
त्यस्तै, साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि आज मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।
त्यसैगरी, चितवनको भरतपुर अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । अस्पतालले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेका छन् । अस्पतालले जारी गरेको सूचनाअनुसार विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो ।
साथै, बिहीबार नै एक कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु भएको छ ।
वीरगञ्ज–१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनको उपचारको क्रममा बिहीबार साँझ नारायणी कोभिड –१९ वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै, विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौमा स्वाब संकलन गरेर जाँच गर्दा ३ भदौमा पोजेटिभ रिपोर्ट आएको थियो ।