चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । तिमध्ये २ जना स्वास्थ्यकर्मीसमेतगरी कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये २२ जना चितवनका रहेका छन् ।
उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्रै १९ जना छन् । ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका ९ वर्ष देखि ६७ वर्ष सम्मका स्वास्थ्यकर्मी तथा बिरामीहरू हुन् । क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमंण देखिएको छ ।
भरतपुर अस्पतालबाट स्वाब दिएकाहरू लक्षणसहित परीक्षणका लागि आएकाहरू रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभएको छ । संक्रमित हुनेमा राप्ती नगरपालिकाको वडा नम्बर २ र ८ मा क्वारेन्टिनमा बस्दै आएका तीन जना नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक÷एक जना रहेका छन् । बिहीबार राती ३०६ वटा स्वाबको नमूना परीक्षण गर्दा अन्य २८० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।
चितवनमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । उनीहरू मध्ये ११३ जना निको भइसकेका छन् ।