काठमाडौं । प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल सहमत भएका छन् । चालु दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न दुई सहमत भएका हुन् ।
आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले छलफल गरेका थिए । छलफलमा उनीहरू जारी अधिवेशनबाटै नामको टुङ्गो लगाउन सहमत भएका हुन् ।
एमाले नेता कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लगाउने सहमति भएको बताउनुभयो । आजै संसद् बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले एमाले नाम टुङ्गो लगाउन सकारात्मक भएका कारण सहकार्य गर्न सत्तापक्षलाई आग्रह गर्नुभएको थियो ।