काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा महानगर १७ बिरौटा सबस्टेसनको अवरोध हटाइदिन प्रदेश सरकार र स्थानीय निकायसँग आग्रह गर्नुभएको छ ।
पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा प्राधिकरणले प्रस्तावित सबस्टेसन निर्माण अघि बढाएको थियो । तर स्थानीयले ३-४ वर्षदेखि अवरोध गरिरहेको भन्दै उहाँले १३२–११ केभी सबस्टेसनको निर्माण तत्काल अगाडि बढाउन नसकिए अहिलेको क्षमताले नधानेर पोखरामा बाध्यात्मक लोडसेडिङ गर्नु पर्ने अवस्था आउने बताउनुभयो ।
घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री आचार्य र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई सबस्टेसन स्थानीयको अवरोध हटाउन आवश्यक पहल गरिदिन आग्रह समेत गर्नुभयो ।
महानगरपालिका प्रमुख आचार्यले सबस्टेसन निर्माण र विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न पोखरामा सञ्चालित आयोजनाको कार्यान्वयनमा सक्दो सहयोग र आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।
प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ ।
प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने छ ।