पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाई थियो ।
पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार(आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताउनुभयो ।
यस्तै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताउनुभएको छ । अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताउनुभएको हो ।
उहाँले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो । गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो ।
अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको बताउनुभयो ।
अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।