काठमाडौं । नेपाल विद्युत प्राधिकरण मिटर रिडर संघर्ष समितिले प्राधिकरण कार्यालयबाट अपमानपूर्ण व्यवहार भएको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।
नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयलाई संघर्ष समितिका अध्यक्ष रामनाथ महतो र सचिव सुरेन्द्र अरगरियाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र लेख्दै लामो समयदेखि प्राधिकरणले मिटर रिडरमाथि विभेद गर्दै सेवासुविधाबाट वञ्चित गरेको आरोप लगाएका छन् ।
सात दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । लामो समयदेखि कार्यरत रहेर विद्युत प्राधिकरणको हरेक कामकाजमा उत्साहपूर्ण र सक्रिय सहभागी भए पनि मिटर रिडरलाई बेवास्ता गर्दै आएको उनीहरूको भनाइ छ ।
ध्यानाकर्षण पत्रमा विगत १५ वर्षदेखि विद्युत प्राधिकरणमा कार्य गर्दै आए पनि प्राविधिकरुपमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित गरेको उल्लेख छ । ‘हामी मिटर रिडरलाई विभेद गरी गोटे ठेक्काका मान्छे हुन् भनि दुस्प्रचार गरियो । हामीले यस प्राधिकरणमा गरेको योगदान र श्रमको खिल्ली उडाइयो, कुनै मूल्याङ्कन समेत भएन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
पटक पटक आफ्ना मागबारे ध्यानाकर्षण गर्दा पनि सम्बन्धित निकायले समाधानका लागि चासो नदेखाएकाले सात दिनभित्र माग सम्बोधन गर्न उनीहरूले अल्टिमेटम दिएका छन् । माग पूरा नभए आगामी असार १ गतेबाट चरणबद्धरुपमा आन्दोलनको कार्यक्रम अघि बढाइने उनीहरूको चेतावनी छ ।