काठमाडौं । नेपाली कांग्रेसका नेता राजन केसीले संघ र प्रदेश निर्वाचनमा गठबन्धन नभए कांग्रेस एक्लै लड्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भन्नुभयो,“ निर्वाचनमा गठबन्धन भए मात्र लड्ने नभए नलड्ने भन्ने हुँदैन, गठबन्धन भएपनि नभएपनि कांग्रेस लड्छ ।”
उहाँले फेरि बाम गठबन्धन हुने भन्ने कुरामा आफू विश्वस्त नरहेको दावी गर्नुभएको छ । नेता केसीले माओवादी र एकीकृत समाजवादीले पार्टीगतरुपमा गठबन्धनको निर्णय गर्न सक्ने अधिकार भएको पनि प्रष्ट पार्नुभएको छ ।
उहाँले स्थानीय तहको निर्वाचनमा कांग्रेसले गठबन्धनलाई धोका नदिएको दाबी गर्नुभएको छ ।
महन्थ ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव गर्नुभयो रे के हुन्छ अब भन्ने पत्रकार धमलाको प्रश्नमा नेता केसीले भन्नुभयो,“ राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर विभिन्न पार्टीबीच सहकार्य अथवा गठबन्धन गरिन्छ, हामीसँग सहकार्य गर्न चाहने सबै दललाई हामी स्वागत गर्ने छौं ।”