काठमाडौं । ‘कबड्डी ४’की अभिनेत्रीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार(आज) बिहान युवाको एक समूहले चाबहिलस्थित केएल टावरअघि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरूले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुले सुनधारास्थित सिभिल मलको एक कफी सपमा आफू विरुद्ध दुर्व्यवहार गरेको भन्दै ती अभिनेत्रीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
उनको उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको हो । पक्राउको विरोधमा कर्णालीका बासिन्दा र लामा समुदायले आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम थियो । तर कार्यक्रम स्थगित भएको छ ।
फिल्मविरुद्ध नै प्रदर्शन चर्किने संकेत पाएपछि आज बिहान ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेको जनाइएको छ ।
सोमबार ‘कबड्डी ४’का लागि सिनेमा हल पुगेकी अभिनेत्रीलाई ती युवाले तीन पटक पछाडिबाट नियोजित ढंगले छोएर दुर्व्यवहार गरेको आरोप छ ।