काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले बजेट उत्कृष्ट रहेको भन्दै कार्यान्वयनमा कुनै समस्या नहुने दाबी गर्नुभएको छ।
मंगलबार(आज) प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो।
पूर्व अर्थमन्त्री समेत रहेका पुनले निर्यातमुखी कृषि क्षेत्रलाई सरकारको आगामी वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले बजेटको प्राथमिक क्षेत्रमा कृषिको रूपान्तरण पर्नु आफैँमा महत्त्वपूर्ण रहेको बताउनुभयो । साथै, उहाँले कृषिको माध्यमबाट थप पाँच लाख रोजगारी सिर्जना गर्ने भन्ने कुरामा कसैले विरोध गर्नु जरुरी नरहेको बताउनुभएको छ ।
सांसद पुनले बजेटका सिद्धान्त र प्राथमिकता र सरकारको नीति तथा कार्यक्रम र बजेट एउटै दिशानिर्देशमा आएकाले पनि बजेट समयमै कार्यान्वयन हुने र अपेक्षित लक्ष्य हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।