काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उहाँलाई दिने सम्मानका बारेमा निर्णय गर्न आज विहान मन्त्रीपरिषद्को बैठक पनि बस्न लागेको जनाइएको छ ।
पारिवारजनको सल्लाह अनुसार उहाँको अन्त्येष्टिको कार्यक्रम सरकारले तय गर्ने उहाँका निकटस्थहरुले जनाएका छन् । कवि गीतकार नगेन्द्र थापाको पहलमा २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, सञ्चारमन्त्री कमल थापाको सक्रियतामा तत्कालीन राजा ज्ञानेन्द्रबाट उहाँलाई राष्ट्रकविको उपाधि दिइएको थियो ।
उहाँ नेपाली सेनाको मानार्थ सहायक रथीसमेत भएकाले उनलाई नेपाली सेनाले पनि सम्मान दिने भएको छ । सैनिक अधिकारीलाई सरह नै अन्तिम सलामी दिने तयारी भएको सेनाले जनाएको छ । सेनाले उहाँको अन्तिम संस्कारको सहजीकरणसमेत गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सिफारिसमा २०७४ माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई मानार्थ सहायक रथीको सम्मान दिने निर्णय गरेको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका समकालीन घिमिरेको निधनसँगै शताब्दी लामो नेपाली साहित्यको एउटा धरोहरको अन्त्य भएको ठानिएको छ । १०१ वर्षको दीर्घजीवनको अधिकांश समय नेपाली साहित्यको सेवामा समर्पण गरेका घिमिरेको हिजो साँझ ५ः५५ बजे आफ्नै निवास लैनचौरमा निधन भएको हो ।
उहाँको जन्म १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको हो । उहाँ केही समयदेखि दम र मधुमेहबाट पीडित हुनुहुन्थ्यो । अस्वस्थता र शसक्तताकै कारणले एक वर्षयता उहाँ सार्वजनिक कार्यक्रममा उपस्थित हुन छाड्नु भएको थियो ।