काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो ।
नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गर्नुभएको थियो । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी हुनुभएको थियो ।
बालेनले शपथ ग्रहण गरेपछि उहाँले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउनुभएको छ । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो ।
काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार मेयर साह र उपमेयर डंगोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।