काठमाडौं । सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताउनुभएको छ ।
उहाँले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि मार्गदर्शन गर्न सो उच्चस्तरीय संयन्त्र उपयोगी हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
त्यसैगरी बजेटमा कृषकहरूलाई सहज र सरल रुपमा बिउ, मल, प्रविधि, सिँचाइ सुविधा उपलब्ध गराउने, लघुवित्तमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि बिमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको स्थापना गर्ने, उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने पनि उल्लेख गरिएको छ ।
(LIVE)