कठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् ।चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताएका हुन् । उनले शासक तथा ठूला दलका अर्कमण्यताको कारण देशको ऋण बढिरहेको उल्लेख गरे ।
स्थानीय तहको निर्वाचन २०७९ मा चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीमा निर्वाचित जनप्रतिनीधिहरुलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा सांसद सुवालले देशको अर्थतन्त्र खोक्रो बन्दै गइरहँदा पनि शासक दलहरुले त्यतातिर ध्यान दिन नसकेको बताए ।
स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै उनले ठूला दलहरूले आफू जित्नका लागि सिद्धान्तहीन सम्झौता गरी जनतालाई झुक्याएको समेत बताए । उनले ठूला दलहरुले गठबनधनको नाममा प्रजातन्त्रविपरीत काम गरेको उल्लेख गर्दै कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा सिद्धान्तमा टिक्न नसकेको चर्चा गरे ।
कार्यक्रममा उनले निर्वाचित जनप्रतिनीधिहरुले देश र जनताको निःस्वार्थ सेवा गर्न, पूवाग्रहविना काम गर्न निर्देशन समेत दिए । उनले पार्टीको सिद्धान्त र विचारबाट विचलित नभई काम गर्नुपर्ने समेत बताए ।