काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन मंगलवार(आज) सेयर बजार दोहोरो अंकले बढेको छ। यसअघि पहिलो कारोबार दिन हिजो उच्च अंकले घटेको सेयर बजार आज भने लयमा फर्किएको हो।
आज सेयर बजार परिसूचक (नेप्से) १६.३२ अंकले बढेर २२१७.१९ विन्दुमा पुग्यो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज ३.६२ अंकले बढेर ४३२.६७ विन्दुमा पुग्यो।
आज कूल २१ हजार ७०९ वटा कारोबार हुँदा ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ। यस दिन सेयर बजारमा १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज व्यापार र म्यूचअफ फण्डबाहेक सबै समूहको उपसूचक बढेको छ। आज सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक २.०६ प्रतिशतले बढ्यो।
आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ३१६ रुपैयाँ पुगेको छ। माथिल्लो तामाकोसी सेयर मूल्य ५.५८ प्रतिशतले बढेर प्रतिकित्ता ५०८ रुपैयाँ पुगेको छ।
आज विजय लघुवित्त, हिमालय ऊर्जा विकास कम्पनी, नारायणी विकास बैंकसहितका कम्पनीको भने सेयर मूल्य बढ्दा कर्पोरेट विकास बैंकको सेयरमूल्यमा भने नमरात्मक सर्किट लाग्यो।