काठमाडौं - नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) सँग नेपाल विद्युत् प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको छ ।
मङ्गलवार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक प्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेको सो सम्झौतामा जीजीजीआईले सो इन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने, त्यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिदिने र आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने भनिएको छ ।
सम्झौतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाइड्रोजन फ्यूलको उत्पादन कार्यलाई अघि बढाउने उल्लेख गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताए ।
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले सो परियोजनाले विश्वमै महंगो बन्दै गइरहेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै त्यसको छिटो कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यान जाने विश्वास व्यक्त गरिन् ।
उनले सो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको नयाँ ढोका खोलिदिएको पनि बताइन् । मन्त्री भुसालले जलविद्युतको खपतका लागि पनि नेपालमा इन्धनसँग सम्बन्धित यस्ता परियोजनाहरू उपयोगी हुने स्पष्ट पारेकी छिन् ।