काठमाडौं । नेकपा एमालेका नेता मणि थापाले स्थानीय तहको चुनावको मत परिणामले पार्टीको स्थिति झन बलियो भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने,“एकातिर पाँच दलीय महागठबन्धन अर्कोतिर एमालेको तुलना गर्ने हो भने, स्थानीय तहको चुनावमा एमालेले पाएको मतले हामी उत्साहित छौं ।”
एमालेले सोचेजस्तो मतपरिणाम ल्याउन सकेन, अध्यक्ष केपी ओलीले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि उठ्न थालेको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता थापाले भने,“ गम्भिर समीक्षा गर्नुपर्ने बेला भने भएको हो, राजीनामाको कुरा गर्नु हतार मात्र हो ।”
उनले एमालेको जनप्रियता, वैचारिक अडान र सिद्धान्तप्रति चुनावमा जनताको आकर्षण कायम रहेको बताएका छन् ।