काठमाडौं । स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनबाट नेपाली कांग्रेसलाई सर्वाधिक लाभ भएको छ ।
सत्ताघटकका अन्य दलको साथ लिएर कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेलाई दोस्रोमा धकेलिदिएको छ । कांग्रेसपछि गठबन्धनको लाभ माओवादी केन्द्रलाई पनि भएको छ । माओवादी केन्द्र केही सुधारसहित तेस्रो स्थानमा यथावत् छ । सत्तारुढ दलका सहयात्री माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र जनमोर्चाको साथले कांग्रेसले अन्य दललाई धेरै पछि पारेको छ ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधि बहुसंख्यक कांग्रेसबाट विजयी हुनेमा आशंका छैन् । सत्ताघटका अन्य दलको सहयोगमा कांग्रेसले स्थानीय तहमा अध्यक्ष र प्रमुख गरी २३८ स्थानमा जित निकालिसकेको छ । अग्रता संख्यामा पनि कांग्रेस अरु दल भन्दा अघि नै छ । गणना हुँदै गरेका ८१ पालिकामा कांग्रेसको अग्रता छ ।
यता माओवादीले १०० स्थानीय तहको अध्यक्ष र प्रमुखमा विजयी भएको छ भने १८ स्थानमा अग्रता लिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेका उम्मेदवारले १५४ स्थानको अध्यक्ष र प्रमुखमा जित निकालेका छन् । ४२ स्थानीय तहमा एमालेले अग्रता लिइरहेको छ ।
औपचारिक रुपमा तालमेल गरिएका स्थानीय तहको संख्या २१६ थिए । कांग्रेसले १४०, माओवादीले ५०, एकीकृत समाजवादीले १९, जनमोर्चाले ४ र जनता समाजवादीले ३ स्थानमा प्रमुख तथा अध्यक्ष उठाउने गरी तालमेलको सहमति बनेको थियो ।