काठमाडौं । देशभरी आइसियु र भेन्टीलेटर अभाव हुन थालेपछि जटिल प्रकारका विरामीहरुको जीवन जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढ्दै गएको र उनीहरुलाई भेन्टीलेटर र आइसियुमा राखिएकाले सवै प्रकारका अरु जटिल अवस्थाका विरामीहरु भेन्टीलेटर र आइसियु नपाएर जीवन गुमाउनु पर्ने अवस्था आउनसक्ने चिकित्सकहरुको भनाई छ ।
पुर्व तयारीको पर्याप्त समय भएर पनि सरकारले आइसियु र भेन्टीलेटर नथप्नु गलत भएको डा प्रभात अधिकारीले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो ।
उहाँले बेसार पानी खाने र हाच्छिउँ गरेर कोरोना उडाने भन्दै बसेकाले केही तयारी नहुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । कोरोनाभाइरस जुन गतिमा फैलिएको छ, तयारी त्योभन्दा तिव्र गतिमा हुनु पर्नेमा उल्टो भएको डा अधिकारीले टिप्पणी गर्नुभयो ।
सरकारको तयारीको अवस्था हेर्दा जटिल विरामीले जीवन गुमाउने र सामान्य विरामीले घरमै बसेर आफुलाई जोगाउनु पर्ने अवस्था आउन सक्ने डा अधिकारीको अनुमान छ ।
“सवारी साधन किन्न पैसा पुग्ने, तर भेन्टीलेटर किन्न पैसा नभएको भन्ने सुनिएको छ, यो दुखद् समाचार हो, यस्तो तरिकाले कोरोनाविरुद्ध लड्न सकिदैन, ”उहाँले भन्नुभयो ।
रुस, चीनलगायतका कतिपय देशहरुमा कोरोनाभाइरसको औषधी पत्ता लगाइएको र परीक्षण नेपालमा पनि गराउनु उपयुक्त हुने उहाँले सुझाव दिनुभयो ।