काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्दान्तिक सहमति गरेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको बाँडफाँटबारे निर्णय गर्न कार्यदललाई जिम्मेवारी दिएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले जानकारी दिनुभयो ।
नेताहरूबीचमा सिट बाँडफाँट छिटो गर्ने सहमति पनि बनेको उहाँले बताउनुभयो । आजै दिउँसो १ बजे कार्यदलको बैठक बस्ने पनि तय भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल यसअघि नै बनिसकेको छ । गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा अब कार्यदलले नै लगातार काम गर्ने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यदलले बाँडफाँटका विषयमा आवश्यक निर्णय गरिसकेपछि उक्त निर्णय शीर्ष नेताहरुलाई पेस गरिने छ । महानगर र उपमहानगरको टुंगो केन्द्रले लगाउने यसअघि नै निर्णय भइसके पनि यसमा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
कार्यदलले महानगर र उपमहानगरको विषयमा पनि छलफल गरेर शीर्ष नेताहरुलाई जानकारी दिने बताइएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बैशाख ११ र १२ गतेका लागि तोकेको छ । मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले भने बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् ।