Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवाले ओलीको पार्टी धेरै बलियो रहेको भनेपछि कांग्रेसमा तरंग

देउवाले ओलीको पार्टी धेरै बलियो रहेको भनेपछि कांग्रेसमा तरंग

  • आइतवार, चैत्र १३ २०७८

  • 1.1K
    SHARES

  • देउवाले ओलीको पार्टी धेरै बलियो रहेको भनेपछि कांग्रेसमा तरंग

    काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले धेरै बलियो रहेकोले कांग्रेसले चुनाव जित्न गठबन्धन गर्नुपर्ने बताएपछि नेपाली कांग्रेसभित्र रडाको मच्चिएको छ । हिजो एक कार्यक्रममा कांग्रेस सभापति समेत रहनुभएका देउवाले एमालेलाई कमजोर नठान्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।

    कम्युनिष्टहरु फुटेका छन् त्यसैले हामी जितिहाल्छौँ भनेर भ्रममा नपार्न आग्रह गर्दै देउवाले ओलीको पार्टी एमाले अहिले पनि निकै बलियो अवस्थामा रहेको बताउनभएको थियो ।

    चुनावको मुखमा मुख्य प्रतिस्पर्धी जो हो उसैलाई बलियो रहेको सन्देश सभापति तहबाटै प्रवाह भएपछि कांग्रेसीहरु हतोत्साहित भएका हुन् ।

    सामाजिक सञ्जालमा धेरैले देउवाको अभिव्यक्तिबाट कार्यकतर्ताको मनोवल कमजोर बनेको बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेले पनि सभापति देउवाको अभिव्यक्तिको विभिन्न कोणबाट व्याख्या भइरहेको बताउनुभयो ।

    तर, आफ्नो बुझाईमा देउवाले मुख्य प्रतिस्पर्धा एमालेसँग हुने भएकोले कमजोर नठान्न बताउनुभएको हुनसक्ने उहाँले बताउनुभयो । तर, सभापति देउवाको अभिव्यक्तिलाई कांग्रेसभन्दा एमाले बलियो रहेको रुपमा बुझ्नु गलत हुने उहाँले बताउनुभयो ।

    घिमिरेले आफू गठबन्धनको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो । कम्युनिष्टहरु फुटेर छिन्नभिन्न भएको बेला सहज जित निकाल्न सकिने इतिहासको सुनौलो मौकाको फाइदा कांग्रेसले एक्लै चुनाव लडेर उठाउनुपर्ने उहाँले बताउनुभयो ।

    वर्तमान स्थितिमा शत्रूतापूर्ण सम्बन्ध रहेका कम्युनिष्ट घटकहरुबीच फेरि एकता हुने कुरा कल्पना बाहिरको विषय हुने उहाँले बताउनुभयो । घिमिरेले वाम एकता भइहालेछ भने पनि जनताल यसपटक उनीहरुलाई बहुमत नदिने दाबी गर्नुभयो ।

    घिमिरेले वाम गठबन्धनको सम्भावना नरहेको दाबी गरे पनि कतिपयले चीनको प्रभावले काम गर्न सक्ने टिप्पणी गरिरहका छन् । चीनले नेपालमा फेरि वाम गठबन्धनका लागि चासो र हस्तक्षेप बढाइरहेको कतिपयको दाबी छ ।

    तर राजनीतिक विश्लेषक सुरेन्द्र केसी अहिले वाम एकताको सम्भावना नदेखिएको बताउनुहुन्छ । प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपालको गुन तिर्न मात्रै चुनावी गठबन्धनको पक्षधरता देखाएको उहाँको विश्लेषण छ ।

    कांग्रेसका कतिपय नेताहरु माओवादीसँग गठबन्धन गर्दै हिँडे नेपाली कांग्रेसको हालत पनि भारतको कांग्रेस आई जस्तो हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । संस्थापनइतर समूहको नेतृत्व गरिरहनुभएका केन्द्रीय सदस्य शेखर कोइरालाले गठबन्धन गरिरहे कांग्रेसको हालत कांग्रेस आइको जस्तै बन्न सक्ने बताउनुभएको थियो ।

    कांग्रेस ध्वस्त हुन सक्ने कोइरालाको अभिव्यक्तिको पनि तीव्र विरोध भइरहको छ । नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेस सधैँ बलियो अवस्थामा रहिरहने भएकोले निराशावादी कुरा नगर्न आग्रह गर्नुभयो । गठबन्धनकै कारण कांग्रेस सत्तामा रहको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो ।

    यसैबीच कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन गर्नुपर्ने पक्षमा माहोल बनेको छ । जिल्लामा प्रचार प्रसारका लागि खटिएका केन्द्रीय नेताहरुले सम्बन्धित ठाउँको वस्तुस्थितिबारे जानकारी गराएका छन् ।

    आज ५४ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । रिपोर्ट प्रस्तुत गर्ने अधिकांश सदस्यले चुनावमा गठबन्धनसहित जान नेतृत्वलाई सुझाव दिएका छन् । अघिल्लोपटक आफूले जितेको स्थानीय तह सुरक्षित राख्दै एमालेले जितेको ठाउँमा दलहरुबीच गठबन्धन गर्नुपर्ने धारणा धेरैले राखेका हुन् ।


    आइतवार, चैत्र १३ २०७८०६:५४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij