काठमाडौँ – संसदबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि यसको विरोधमा रहेका वामपन्थी नेताहरुले नयाँ पार्टी गठनको प्रयास तीव्र पारेका छन् । नयाँ पार्टी गठनको प्रयासमा हालै हिंसा छाडेर मूलधारको राजनीतिमा आएको नेपाल कम्यनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विशेष सक्रियता बढाएका छन् ।
नयाँ पार्टी गठनबारे अहिले माओवादी र एमाले लगायतका दलमा रहेर एमसीसी विरोधी अभियान छेडेका नेताहरु पनि संवादमा जोडिएका छन् । एमसीसीको विवाद चर्केपछि पार्टीबाट विकल्प खोजिरहेका नेताहरु नारायणकाजी श्रेष्ठ र भीम रावललगायतसँग विप्लवको वार्ता भइसकेको छ ।
प्राप्त विवरणमा यी दुवै नेताले नयाँ पार्टी गठनकोे प्रस्तावलाई सकारात्मक भनेका छन् । एमाले नेता रावलले त देशभक्त नेपालीहरु एक ठाउँमा उभिने कुरा उचित रहेको सार्वजनिक रुपमै बताइसक्नुभएको छ । आज बिहान रावल र विप्लवबीच वार्ता भएको थियो ।
उक्त भेटमा आफूहरुबीच देशको स्वाधीनताको रक्षाका लागि एक ठाउँमा उभिने कुरा भएको रावलले जानकारी दिनुभयो । यद्यपि तत्कालै नयाँ पार्टी गठनभन्दा पनि आ–आफ्नो ठाउँबाट स्वाधीनता रक्षाका लागि आवाज उठाउनुपर्ने विचार आफूले व्यक्त गरेको रावलले बताउनुभयो ।
तर यति हुँदा हुँदै पनि नयाँ पार्टी गठन हुने विषयलाई पूर्ण रुपमा नकार्न नमिल्ने रावलको बुझाई छ । नयाँ पार्टी गठन हुने कुरा मुुलुकको राजनीति कुन दिशामा अघि बढ्छ भन्नेमा पनि निर्भर रहने उहाँले बताउनुभयो । राजनीतिक भविष्यबारे तत्कालै आफूले आकलन गर्न नसकेको रावलको भनाइ छ ।
विप्लवले यसअघि हिजो माओवादी नेता नारायणकाजी श्रेष्ठसँग पनि संवाद गर्नुभएको थियो । प्रचण्डले महाकाली सन्धी हँुदा वामदेव गौतमले पार्टी फुटाएको तर एक सिट पनि जित्न नसकेको उदाहरण दिँदै नारायणकाजी पनि सोही दिशामा गए आफूले नरोक्ने सार्वजनिक अभिव्यक्ति दिएपछि रिसले चुर भएका श्रेष्ठसँग पनि विप्लवले नयाँ पार्टी गठनको प्रस्ताव गर्नुभएको थियो ।
प्रचण्डको अभिव्यक्तिकै कारण श्रेष्ठ समूहका नेताहरुले अब माओवादीमा रहन सक्ने परिस्थिति अन्त्य भएको दाबीसहित विकल्प खोजिरहेका बेला नयाँ पार्टी गठन गर्ने विप्लवको प्रस्तावबारे विमर्श भइरहेको छ । तर श्रेष्ठ निकट नेता लिलामणि पोखरल माओवादी विभाजन हुन लागेको कुरा विल्कुलै निराधार रहेको बताउनुहुन्छ । पार्टीमा विवाद रहेको तर विभाजन हल्ला निराधार रहेको उहाँको जिकिर छ ।
प्रचण्डसँग रिसाएको श्रेष्ठ पक्ष भालिको केन्द्रीय कमिटी बैठकमा चर्को रूपमा प्रस्तुत हुने तयारी गरेको छ । उक्त बैठकमा प्रचण्डलाई आत्मालोचित गराउने योजनामा श्रेष्ठ समूह लागेको छ । प्रचण्डले बहुमतको डन्डा चलाउन खोजे प्रतिवाद गर्ने र त्यस्तो अवस्थामा नयाँ पार्टी बनाउने तयारी भइरहेको चर्चा व्यापक छ । नेता पोखरेलले भोलिको बैठकमा एमसीसीबारेको विषय एजेन्डा बन्ने र त्यसबारे गहन छलफल हुने बताउनुभयो ।
श्रोतका अनुसार केन्द्रीय कमिटीको भोलिको बैठकबाटै माओवादी विभाजनको रेखा कोरिने प्रष्ट भइसकेको छ । नयाँ पार्टी बनाउने हा भने श्रेष्ठ र विप्लवबीच सबैभन्दा पहिला सहमति जुट्नसक्ने अनुमान गरिएको छ । नयाँ पार्टी बनाउने अभियानमा एमालेबाट भीम रावलसहित एकीकृत समाजवादीका नेता झलनाथ खनाल र एमाले छाडेका नेता वामदेव गौतमसम्मलाई जोड्ने प्रयास भइरहेको छ । पूर्व माओवादीका सबै घटकहरुलाई पनि नयाँ पार्टीमा समेट्ने गरी राजनीतिक संवादहरु काठमाडौँमा बाक्लिएका छन् ।