Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देउवाको परिपक्व नेतृत्वमा एमसीसी अनुमोदन हुन सक्योः डा. महत

देउवाको परिपक्व नेतृत्वमा एमसीसी अनुमोदन हुन सक्योः डा. महत

  • सोमवार, फाल्गुण १६ २०७८

  • 1.1K
    SHARES

  • देउवाको परिपक्व नेतृत्वमा एमसीसी अनुमोदन हुन सक्योः डा. महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सुझबुझ र परिपक्व नेतृत्वमा एमसीसी संसद्बाट अनुमोदन गर्न सफल भएको बताएका छन् ।

    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा. महतले भने, “ढिलै भए पनि संसद्भित्रका अधिकांश पार्टी सहयोग र समर्थनमा एमसीसीको टुंगो लागेको छ । दलहरुबीच बृहत्तर सहमति बनेको छ । प्रधानमन्त्री एवं कांग्रेसको सभापति शेरबहादुर देउवाको नेतृत्व, सुझबुझ र दृढताका कारण यो सम्भव भएको हो ।”

    एमसीसी अनुमोदनमा नेकपा एमाले विपक्षमा नरहेको पनि उनले दाबी गरे । डा. महतले भने, “सबैभन्दा ठूलो पार्टी नेकपा एमाले एमसीसीको विपक्षमा उभिएको म मान्दिनँ । उसले यसमा विमति होइन, अरु कारणले गर्दा प्राविधिक रुपमा संसद्को नियमित प्रक्रियामा सहभागी मिलेन । एमसीसीका सवालमा उसले प्राविधिक विषय उठाउनु हुनुहुन्नथ्यो ।

    तत्काल उसको गाँठो फुकाउन सकिने स्थिति पनि थिएन । तर एमसीसीमा उसको समर्थन नै थियो ।” उनले माओवादी र समाजवादीसँग जोडिएका विरोध अन्त्य भइसकेकाले बाँकी विरोध र भ्रम पनि हटेर जाने विश्वास व्यक्त गरे ।

    एमसीसीका बारेमा रहेका भ्रम र दुबिधा अब समयसीमाभित्र कार्यान्वयन गरेर गलत साबित गर्नुपर्ने कांग्रेस प्रवक्ता महतले बताए । उनले थपे, “एमसीसीको विषयमा नियोजित रुपमा गलत व्याख्या गरेर जनतालाई भ्रममा पारिएको थियो । यो विशुद्ध विकास सहयोग हो । यसको अरु मक्सद छैन । एमसीसीका दस्तावेज र कार्यान्वयनले त्यसलाई गलत र झुटो साबित गर्छन् ।”

    संसद्बाट पारित व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ला भन्ने पत्रकार धमलाको प्रश्नमा डा. महतले भने, “यसमा अमेरिकाको आपत्ति जनाउनुपर्ने कुरा छैन । अर्थसचिवको संयोजकत्वमा रहेको समितिमार्फत यसलाई तत्काल कार्यान्वयनमा लानुपर्छ ।”

    उनले गठबन्धन सरकार निर्वाचनसम्म रहने भए पनि चुनावमा कसरी जाने भन्ने अहिले छलफल नभएको पनि औंल्याए । डा. महतले भने, “यो गठबन्धन सरकार निर्वाचनसम्म रहन्छ । तर चुनावमा कसरी जाने भन्ने तत्काल छलफल भएको छैन । हामी आवश्यकताको सिद्धान्त अनुसार निर्णयमा पुग्छौं ।”

     


    सोमवार, फाल्गुण १६ २०७८०९:३६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij