काठमाडौं । अमेरिकाको सिकोगोबाट प्लेन चढाएर ल्याइएको सात वटा साँढे तीन दिनको हवाई यात्रा पछि शुक्रबार काठमाडौं आइपुगेका छन् । गाइको नस्ल सुधार तथा दूध विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खरिद गरेको सात वटा साँढे नेपाल आइपुगेका हुन् ।
२३ फेब्रेअरी अर्थात ११ फागुनमा अमेरिकाको सिकागोबाट हिंडाइएको उक्त साँढेहरु कतारको राजधानी दोहा, भारतको राजधानी नयाँ दिल्ली विमानस्थल हुँदै तीन दिनको जहाज यात्रामा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको मन्त्रालय अन्र्तगतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले जनाएको छ । भारतको नयाँ दिल्लीसम्म कतार एयरवेजमा ल्याइएका साँढेहरु त्यहाँबाट भने नेपाल आएरलाइन्सको जाहज चढेका थिए ।
नेपाल ल्याइएका साँढेहरु मध्ये दुई वटा शतप्रतिशत शुद्ध होलस्टन जातका हुन् भने पाँच वटा शतप्रतिशत शुद्ध जर्सी जातको भएको आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव भट्टले जानकारी दिए । शुक्रबार आइपुगेको साँढेहरु अहिले काठमाडौंमै आइसोलेसनमा राखिएको र केही दिनमा पोखरामा रहेको वीर्य उत्पादन केन्द्रमा पठाइने छ ।
‘कृत्रिम गर्भाधनमार्फत नस्ल सुधार र दूध उत्पादन बढाउन १७० वर्षपछि यो स्केलमा पहिलो पटक शतप्रतिशत शुद्ध साँढेहरु नेपाल ल्याएका छौं, यो राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा लगेर नस्ल सुधारमा प्रयोग गरिने छ,’ भट्टले भने । जंगबहादुरले १९०७ मा ल्याएपछि पहिलो पटक अमेरिकाबाट साँढे ल्याइएको आयोजनाको दाबी छ ।