काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने संसद बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबुल हुने दाबी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा एमसीसीलाई सदनमा लान नसकिने बताउनुभएको छ ।
खुमलटारस्थित आफ्नै निवासमा माओवादीका शीर्ष नेताहरूसँग छलफल गर्दै प्रचण्डले प्रधानमन्त्रीले भने पनि संशोधनबिना एमसीसी सदनमा लान नसकिने ब्रिफिङ गर्नुभएको हो ।
राष्ट्रिय सहमतिबिना एमसीसी सदनमा लैजान नहुनेमा आफूले प्रधानमन्त्री देउवासँग पनि स्पष्ट अडान राखेको कुरा प्रचण्डले जानकारी गराउनुभएको नेता दिनानाथ शर्माले बताउनुभयो ।
शर्माका अनुसार गठबन्धन पनि टुट्न नदिने र एमसीसीमा राष्ट्रिय सहमति खोज्ने प्रयास अहिले पनि जारी रहको प्रचण्डको भनाइ थियो । एमसीसी सदनमा पेस हुन सबैभन्दा पहिले एमालेले सदनमा गरिरहेको अवरोध हट्नपर्ने प्रचण्डको सर्त छ ।
यसअघि आज बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले भोलि बस्ने संसद बैठकमा एमसीसी टेबुल हुुने दाबी गर्नुभएको थियो । कांग्रेस पार्टीले तत्कालको नाफा घाटा नहेरी एमसीसीमा आफ्नो स्पष्ट धारणा लिएर अघि बढ्ने कुरा प्रधानमन्त्रीले जानकारी दिनुभएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
एमसीसीको पक्षमा मतदान गर्ने र अरु दललाई पनि पक्षमा उभिन आह्वान गर्ने निर्णय बैठकले गरेको छ । महामन्त्री थापाका अनुसार एमसीसी सदनमा लैजाने विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सकारात्मक रहेको कुरा बैठकमा प्रधानमन्त्री देउवाले जानकारी दिनुभएको थियो ।
तर एमसीसी सदनमा लैजाने विषयमा माओवादी पनि सकारात्मक रहेको प्रधानमन्त्रीको दाबीलाई प्रचण्डले खण्डन गर्नभएको हो । यसबारे निर्णय लिन माओवादी केन्द्रले भोलि संसदीय दलको बैठक डाकेको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने एमसीसीलाई सदनमा लैजाने विषयमा सहमति प्रकट गरेको छ । सो पार्टीका नेता मेटमणि चौधरीले प्रधानमन्त्रीले चाहेमा एमसीसी सदनमा पेस हुने बताउनुभयो । तर आफ्नो पार्टीले एमसीसीमा रहेका आपत्तिजनक बुुँदा संशोधन हुनुपर्ने अडान नत्यागेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाको दाबी र अय नेताहरुको समेत अभिव्यक्ति सुन्दा भोलिको बैठकमा एमसीसी पेस हुने सम्भावना देखिन्छ । तर संसद सचिवालयले आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन ।
यद्यपि सभामुख अग्नि सापकोटा कार्यव्यवस्था परामर्श समितिको बैठक भने डाक्नुभएको छ । भोलि बिहान बस्ने यो बैठकले एमसीसी पेस गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिने ठानिएको छ । त्यसअघि आजै प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गर्नुभएको थियो ।