काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट एमसीसी पारित गरिछाड्ने पक्षमा उभिएपछि सत्तारुढ पाँच दलीय गठबन्धन भत्किने सम्भावना बढेर गएको छ ।
एमसीसीमा एकमत बन्न नसक्दा गठबन्धन भत्किने सम्भावना बढेर गएको संकेत शीर्ष नेताहरुले नै गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा नउभिए एमालेसँग मिलेर जाने स्पष्ट संकेत दिएपछि प्रचण्ड र माधवकुमार नेपालमा तनाव बढेको हो ।
माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । तर अमेरिकाले संशोधन गर्न नसकिने यसअघि नै बताइसकेको छ ।
अमेरिकी दबाबपछि एमसीसी पास गराउन सक्रियता देखाउनुभएका प्रधानममन्त्री देउवासँग आज पनि प्रचण्ड र माधव नेपालको छलफल भएको छ । तर यो भेटवार्ताका स्पष्ट विवरणहरु सार्वजनिक गरिएका छैनन् । यद्यपि गठबन्धनमा एमसीसी पासो बनेको नेताहरुका अभिव्यक्तिले स्पष्ट पारिरहेको छ ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले त एमसीसीको बहानामा प्रतिगमनविरुद्धको गठबन्धन भत्किन नहुने धारणा सार्वजनिक गर्नुभएको छ ।
भट्टराईले आलटाल नगरेर एमसीसी पास गर्न अपिल गर्दै वक्तव्य समेत जारी गरेपछि सत्ता गठबन्धनकै अरु नेताहरुले प्रतिवाद पनि गरेका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कम्तीमा आफ्नो पार्टी यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा नरहेको जवाफ भट्टराईलाई फर्काउनुभएको छ । शीर्ष नेताहरुबीच सामाजिक सञ्जालमै चलेको दोहोरी हेर्दा एमसीसीकै कारण पाँच दलीय गठबन्धन भत्किने चरणमा पुगिसकेको देखिन्छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गरे सत्ता गठबन्धन नरहने स्पष्ट पार्नुभयो ।
सकेसम्म प्रचण्ड र माधव नेपालसँग मिलेर जाने तर त्यो सम्भावना जीवित नरहे एमालेसँग मिलेर भए पनि एमसीसी पास गराउने पक्षमा प्रधानमन्त्री रहेको बालुवाटार श्रोतले बताएको छ ।
प्रमुख विपक्षी एमाले पनि एमसीसीबारे सत्ता गठबन्धनमा चलिरहेको विवाद नियालिरहेको छ । हुन त एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री छँदा यसै संसदबाट एमसीसीपास गर्नुपर्ने बताउनुभएको थियो ।
तर अहिले ओली पाँच दलीय गठबन्धनमा चलिरहेको रमिता हेर्दै एमसीसीबारे मौन बसिरहनुभएको छ । एमाले नेता कृष्णभक्त पोखरेल एमसीसी पास गराउने क्षमता सत्ता गठबन्धनभित्रै रहेकोले एमाले अहिले चुप लागिरहने बताउनुभयो ।
एमसीसी राष्टघाति रहेको दाबीसहित यसलाइ स्वीकार गर्न नहुने जनमत नेपालमा बलियो छ । तर प्रधानमन्त्रीसहित कतिपय सत्तारुढ नेताहरु एमसीसीमा कुनै राष्ट्रघात नरहेको दाबी गर्छन् ।
माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले एमसीसीमा राष्ट्रघात कहाँ छ देखाइदिन भन्दै चुनौती दिनुभएको थियो । प्रचण्डले त एमसीसीको पासो थापेर गठबन्धन भत्काउन देशी विदेशी शक्तिहरु लागिपरेको लगातार बताइरहनुभएको छ ।