काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई संसदमा अगाडि बढाउनबाट रोक्न आइतबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित गरेको पाइएको छ ।
प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि तय गरिएको थियो । बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका थिए ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले शनिबार अपरान्ह पौने पाँच बजे साँझ नै प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । तर यति तयारी गरेर पनि शनिबार साँझ प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरियो ।
संघीय संसद सचिवालयले जारी गरेको सूचनामा कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै बैठक स्थगित गरेको उल्लेख गरेको छ । तर शनिबार साँझको सत्तारुढ गठबन्धनको बैठक र त्यहाँ भएको छलफलपछि बैठक स्थगित गरेको गठबन्धनका नेताहरु बताउँछन् ।
गठबन्धनका नेताहरुका अनुसार आइतबारकै बैठकमा एमसीसी सम्झौता अघि बढाउने प्रधानमन्त्रीको चाहनालाई रोक्नका लागि नै संसद बैठक स्थगित गरिएको हो ।
शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी सम्झौता अनुमोदनको विषयमा छलफल भएको थियो ।
नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने समय घर्किन लागेको बताएका थिए । उनले फेब्रुअरी १ अर्थात माघ १८ गतेसम्म अनुमोदन गर्नुपर्ने भन्दै गठबन्धनका दलहरुको सहयोग मागेका थिए ।