काठमाडौं – नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरेको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
एमबिबिएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु प्रशासनमा तालाबन्दी गरेर आन्दोलनमा छन् । विद्यार्थीको आन्दोलनविरुद्ध आइतबार बिहान व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
पुस दोस्रो सातायता आन्दोलनमा रहेका विद्यार्थीलाई विभिन्न दल निकट विद्यार्थी संगठनहरूले पनि साथ दिएका छन् । एमबिबिएसका विद्यार्थी र विद्यार्थी संगठनहरुले दैनिक प्रदर्शन गरिरहेका छन् ।
आइतबार बिहान पनि विद्यार्थीहरूले प्रदर्शन गर्ने तयारी गरिरहेका थिए । त्यही बेला व्यवसायीहरूले ‘रोजिरोटी मार्न पाइँदैन, हस्पिटल भित्र आन्दोलन गर्न पाइँदैन’ भन्दै प्रदर्शन गरे ।
मेडिकल कलेजमा तालाबन्दी हुँदा व्यवसायीलाई समस्या भएको बताउँदै उनीहरुले आन्दोलन राज्यका निकाय केन्द्रित बनाउन आग्रह गरेका छन् ।
विद्यार्थी संगठनहरुले भने नोबेल प्रशासन विरुद्धको आन्दोलन नोबेलमै हुने बताएका छन् । आफ्नो आन्दोलन नोबेल प्रशासनसँग भएको बताउँदै विद्यार्थी संगठनहरुले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले विद्यार्थीको आन्दोलन विथोल्न मान्छेहरु खटाएको आरोप लगाए । अनेरास्ववियूका नेता नविन पहाडीले विद्यार्थीको जायज माग सम्बोधनका लागि अस्पताल केन्द्रित आन्दोलन गरिरहेको बताए ।