काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचन अघि नै एमाले अध्यक्ष केपी ओलीले पराजय स्वीकार गरिसकेको बताउनुभएको छ ।
एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा पराजय निश्चित छ भनेर ओलीले हार स्वीकार गरेको बताउनुभएको हो ।
उहाले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने एमालेको परिपाटीले नेतृत्व स्थापित नहुने पनि टिप्पणी गर्नुभयो । अध्यक्ष नेपालले एमालेभित्र कुनै नीति पद्धति नरहेको भन्दै नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने प्रवृति हाबी भएको जिकिर गर्नुभएको छ ।
उहाले एमालेमा रहेका मानिस वौद्धिकताको विकास गर्ने आधुनिक ज्ञान र चेतना हासिल गर्ने व्यक्ति नभई पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेको बताउनुभयो । अब ओलीबाट एमाले पार्टी नबन्ने र नचल्ने पनि बताउनुभएको छ । उहाले अहिले ओलीले गठबन्धनलाई भाड्न खोजेको आरोप पनि लगाउनुभयो ।
ओलीले सरकारमा हुँदा पार्टीमा लोकतान्त्रिक मूल्यमान्यतालाई धुजाधुजा पारेकापछि विद्रोह भएको नेपालको भनाइ छ ।
फरक प्रसंगमा अध्यक्ष नेपालले एमाले नेतृत्वको सरकारले नारायणहिटीमा व्यापारीलाई रेस्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गरेको आरोपसमेत लगाउनुभएको छ ।