काठमाडौं । विगत केहिदिन यता नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । भारतमा तिव्र गतिमा संक्रमण फैलिरहेको अवस्थामा नेपालमा पनि संक्रमित बढ्न थालेका हुन् ।
जनस्वास्थ्य सुरक्षाको अभ्यास खुकुलो हुदै गएको, खुला नाका र पछिल्लो अवस्थामा भएको भिडभाड, विभीन्न पार्टीका महाधिवेसनहरुले पनि संक्रमणको जोखिमलाई थप बढवा दिएको जनस्वास्थ्यविद्हरुको ठहर छ ।
संकमण फैलिन नदिन सिमा नाकाको व्यवस्थापन तत्काल गर्नुपर्नेमा जनस्वास्थ्यविद् डा शरद वन्त सरकारलाई सुझाव दिनुहुन्छ । पछिल्लो अवस्थामा सिमा नाकाहरुमा चेकजाँचका क्रममा पनि संक्रमितको संख्या बढ्नुले जोखिमको दायरा बढिरहेको छ भन्ने संकेत आईरहेका छन् ।
यता स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले मन्त्रालयले संक्रमण फैलिन नदिन आवश्यक तयारीको काम अघि बढाएको जानकारी दिनुभएको छ । नाकामा परिक्षणको दायरा वढाएको उहाँले जानकारी दिनुभयो ।
नयाँ भेरियन्टको त्रास भन्दा पनि नेपालमा पुरानै भेरियन्टको संक्रमण बढिरहेको छ । त्यसैले सरकारले सकेसम्म छिटो संयन्त्र परिचालन गर्न सक्यो भने संक्रमणको भेरियन्टलाई रोक्न सक्ने डाक्टर वन्त बताउनुहुुन्छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा संक्रमणमुक्त हुनेको संख्या २ सय ७१ रहेको छ भने एक जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना रहेका छन् । जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यसैगरि, कोरोनाकै कारण भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ ।
यो समिटमा भाग लिन पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिएको छ ।
यस्तै, कार्यालयमा कार्यरत अधिकांशलाई कोरोना संक्रमण भएपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय बन्द गरिएको छ ।
केन्द्रीय कार्यालयमा कार्यरत धेरैलाई कोरोना भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो निवासमा हुने भौतिक भेटघाटलाई आजदेखि बन्द गर्नुभएको छ।