काठमाडौं – सत्तामा रहँदा एमसीसी सम्झौता संसदबाट पारित गराउन तीव्र कसरत गरेको नेकपा एमालेले विपक्षमा पुग्दा भने यो सम्झौता यथास्थितिमा कुनै पनि हालतमा पास हुन नसक्ने घोषणा गरेको छ ।
प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले नरहेको बताउनुभयो । सत्ता गठबन्धन भत्काउने सर्तमा एमालेले एमसीसी पास गर्न सघाउने कुरा पनि मिथ्या आरोप मात्रै रहेको उहाँले बताउनुभयो ।
यसअघि प्रधानमन्त्री रहँदा एमाले अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्दै एमीसीसी सम्झौता पास गर्नुपर्ने आफूहरुको कर्तव्य र जिम्मेवारी रहेको बताउनुभएको थियो । ओलीले विभिन्न अन्तर्वार्तामा पनि एमसीसी नेपालको हितमा रहेको प्रष्टीकरण दिँदै आउनुभएको थियो ।
तर ओली सत्ताबाट ढलेसँगै एमसीसीबारे एमालेको पूरानो अडान पनि ढलेको छ । अहिले एमालेले सरकारलाई असहयोग गर्ने मुख्य हतियारका रुपमा एमसीसी सम्झौतालाई प्रयोग गरिरहेको छ ।
तर सरकारले भने एमसीसी पास गर्न छलफल चलिरहेको बताएको छ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौता अघ बढाउनु सरकारको दायित्व रहेको बताउनुभयो ।
सरकारबाट बाहिरिनेबित्तिकै एमसीसीबारे एमालेको धारणा विपरीत ध्रुवमा बदलिनुलाई राजनीतिक बेइमानीका रुपमा व्याख्या गरिन थालिएकोे छ ।
कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउन गरिरहेको ताकेतामा पनि रहस्यहरु लुकेका कतिपयको आशंका छ ।