काठमाडौँ – कांग्रेसको १४औँ महाधिवेशनमा आफूले सभापतिमा चुनाव हारे सरकार पनि ढल्ने र फेरि अधिनायकवादको उदय हुन सक्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिप्रति सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले आपत्ति जनाउनुभएको छ ।
एक जना व्यक्ति नरहँदैमा अधिनायकवादको उदय हुने कुरा सम्भव नरहेको कोइरालाले बताउनुभयो । आज बिहान आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले सभापतिमा चुनाव हारे प्रधानमन्त्रीबाट पनि हटाइदिन सक्ने भन्दै जसरी पनि जित्नुपर्ने दबाब रहेको बताउनुभएको थियो । आफूले हारे केपी ओली जस्ता व्यक्ति फेरि सत्तामा आउन सक्ने देउवाको आशय थियो ।
प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिप्रति जवाफ दिँदै सभापतिका अर्का उम्मेदवार कोइरालाले आफूहरुको जित भए पनि देउवा सरकार यथावत रहने बताउनुभयो ।
आज अवेर साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको नेतृत्व परिवर्तन भए पनि अहिलेको सरकारलाई झनै बलियो पार्ने बताउनुभयो । देउवालाई कांग्रेस सभापतिमा हराउने तर प्रधानमन्त्रीबाट नहटाउने उहाँको भनाइ थियो ।
तर सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले भने महाधिवेशनपछि देउवा सरकार ढालेर नयाँ सरकार निर्माण गर्ने जिकिर गर्नुभयो । उहाँले पहिलो चरणको मतदानमा कुनै उम्मेदवारको ५१ प्रतिशत मत नपुग्ने भएकोले दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताउनुभयो । सभापति हारेको व्यक्तिलाई प्रधानमन्त्रीबाट पनि हटाउने उहाँले बताउनुभयो ।
यद्यपि संविधानमा भने अहिलेको सरकार ढालेर नयाँ सरकार निर्माण गर्न सकिने आधार छैन । सरकार गठनका सबै विकल्प प्रयोग भइसकेकोले अब संसदीय निर्वाचन भएपछि मात्रै नयाँ सरकार गठन हुने व्यवस्था संविधानमा रहेको कानुनविदहरूले बताएका छन् । मुलुक अर्ली इलेक्सनमा गयो भने पनि देउवाकै नेतृत्वमा जाने उनीहरूको भनाइ छ ।
देउवालाई समर्थन गरेका नेता कृष्णप्रसाद सिटौलाले सभापतिमा जितेका प्रधानमन्त्रीको नेतृत्वमा चुनावमा जाने कि सभापति हारेका प्रधानमन्त्रीको नेतृत्वमा चुनावमा जाने भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई प्रश्न गरेर देउवाका लागि भोट माग्नुभएको छ ।