काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) सेयबजारमा सामान्य सुधार आएको छ । हिजो ११.६० अंकले घटेको नेप्से परिसूचक आज ७.९० अंकले बढेको हो । यससँगै नेप्से २ हजार ७ सय ६५ दशमलव ४४ विन्दुमा उक्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ । हिजो चार अर्ब ३५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज कारोबार घटेर तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । कूल २२५ वटा कम्पनीका ७५ लाख ६५ हजार ५१० कित्ता सेयर ५१ हजार ५२६ पटक खरिद–बिक्री भएका थिए ।
यस दिन ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२१ अंकले बढेर ५१९.४६ विन्दुमा उक्लिएको छ ।
आज मनकामना मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो । कर्पोरेट डेभलपमेण्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.७० प्रतिशतका दरले गुमाएका छन् ।
आज विकास बैंक, फाइनान्स, जीवन बिमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक नकारात्मक बनेको छ । बाँकी उपसमूहमा भने परिसूचक सकारात्मक बनेको नेप्सेले जनाएको छ ।