काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षका प्रमुख दावेदार कुल आचार्यले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धि विवाद समाधान गरेर मात्रै निर्वाचन गराउनु पर्ने अडान राख्नु भएको छ ।
बेलायतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले छिटो भन्दा छिटो विवाद समाधान गरेर चुनाव गराउनु पर्ने कुरामा जोड दिनुभयो ।
“चांडो भन्दा चांडो चुनाव हुनु पर्छ भन्ने हाम्रो माग हो र हामी चुनावका लागि तयार छौं। तर डेलिगेट्स छनोट सम्बन्धी विवाद, संघका अभियन्ताहरुले परराष्ट्रमा दिएको उजुरी र परराष्ट्र मन्त्रालयले दिएको लिखित निर्देशनलाई सम्बोधन नगरी एकपक्षीय रुपमा चुनावको मिति घोषणा गर्नु गैर जिम्मेवारीपनको उदाहरण हो,“ आचार्यले भन्नुभयो ।
उहाँले वर्तमान आइसीसीको कार्यकाल पुरा भै सकेकाले विधानको मर्म र गत अक्टोबर महिनामा भएको राष्ट्रिय समन्वय परिषद् (एन सी सी) हरुको पहिलो विश्व भेलाको निष्कर्ष बमोजिम प्रतिनिधि छनोट सम्बन्धी विवाद समाधान गरी निर्वाचन समितिसंग समन्वय गरी चुनाव गराउन संरक्षक परिषद्लाई जिम्मा दिन माग गर्नुभयो ।
“गत एनसीसी चुनावमा एमआइएस प्रणालीको व्यापक दुरुपयोग भएको भन्ने उजुरीहरु परेका छन्। त्यसैले त्यस्ता उजुरीहरुलाई सम्बोधन गरी स्वतन्त्र, निस्पक्ष र विश्वसनीय चुनाव सम्पन्न गर्न आजको आवश्यकता हो,” आचार्यले भन्नुभयो ।
शुक्रबार गैरआवासीय नेपाली संघका कामचलाउ अध्यक्ष कुमार पन्तले विज्ञप्ति प्रकाशित गरी आगामी १५ डिसेम्बर २०२१ मा अनलाइन माध्यमबाट चुनाव गरी डिसेम्बर १९ र २० मा काठमाडौँमा दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन गरिने जनाउनु भएको छ ।
विज्ञप्तिमा परराष्ट्र मंत्री डा. नारायण खड्कासंग पटक पटक वार्ता भएको जनाइए पनि चुनाव गर्न परराष्ट्रले सहमति, दिए नदिएको भने खुलाइएको छैन ।
त्यसैगरी संघको २०२१–२३ कार्यकालका लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले अध्यक्ष पन्तले परराष्ट्र मन्त्रालय, उजुरी कर्ता तथा अध्यक्ष पदका उम्मेदवारहरुसंग समेत छलफल गरेर सहमति खोज्न आह्वान गर्नु भएको छ ।
“छिटो भन्दा छिटो चुनाव गराउनु अहिलेको आवश्यकता हो । त्यसैले सबै सरोकारवाला पक्षहरुसंग तत्काल छलफल गरेर निकास निकाल्नु पर्दछ, “डा. पौडेलले भन्नुभयो ।
त्यस्तै संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले प्रतिनिधि विवादको टुंगो नलगाई विना सहमति विना मतदाता नामावली अधिवेशनको मिति तोक्नुको कुनै अर्थ नरहेको टिप्पणी गर्नु भएको छ ।