काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता पारित गर्छौं भनेर अमेरिकालाई चिठी नलेखिएको दाबी गर्नुभएको छ ।
ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई आज सम्बोधन गर्दै दाहालले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताउनुभएको हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दाहाल र आफूले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताउनुभएको थियो ।
तर प्रधानमन्त्रीको भनाइको खण्डन गर्दै प्रचण्डले आज राजनीतिक दलसँग छलफल आवश्यक रहेकोबारे चिठी लेखिएको दाबी गर्नुभयो ।
‘देशमा सबै दलसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ भन्ने उपाय निकाल्छौं भनेर लेखिएको चिठी हो’, अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले पास गर्छौं भनेर लेखेको चिठी होइन, यो कुरा प्रस्ट होस् ।’
प्रधानमन्त्री देउवा स्वयंले त्यस्तो भन्न नखोजेको पनि दाहालको दाबी थियो । उहाँले प्रधानमन्त्री देउवाको अभिव्यक्तिले देशभर तरंग पैदा गरेको बताउनुभयो ।
‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठी पठासकेको छु भनेर । देशैभरि तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठी पठाएको होइन’, उहाँलेअगाडि भन्नुभयो ।
अमेरिका, बेलायत वा कुनै पनि देशले लिने अनुदान सहयोग लिनु स्वभाविक भएको भन्दै प्रचण्डले सुरुको सहमतिमा डराउनुपर्ने कुरा नभएको बताउनुभयो । तर संसदबाट पास गर्नुपर्ने व्यवस्था थप हुँदा विवाद भएको उहाँले बताउनुभयो ।
एमसीसीबारे प्रचण्डको दुईजिब्रे कुरा गरेको भन्दै अहिले आलोचना भइरहेको छ । प्रचण्डले बाहिर एउटा र भित्र अर्काे कुरा गरिरहेको आरोप आलोचकहरुले लगाइरहेका छन् ।
यसैबीच एमाले उपाध्यक्ष भीम रावलले राष्ट्रघाति सम्झौताबारे अमेरिकालाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गर्नुभएको छ ।