Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गगनलाई भक्तपुरबाटै ओलीको जवाफ, बाबुले भ्याकुम लाएर एमाले सिध्याउने रे...

गगनलाई भक्तपुरबाटै ओलीको जवाफ, बाबुले भ्याकुम लाएर एमाले सिध्याउने रे...

  • बिहिवार, कार्तिक १८ २०७८

  • 981
    SHARES

  • गगनलाई भक्तपुरबाटै ओलीको जवाफ, बाबुले भ्याकुम लाएर एमाले सिध्याउने रे...

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न कांग्रेस नेता गगन थापालाई आग्रह गर्नुभएको छ । हिजो भक्तपुरमा आयोजित कार्यक्रममा थापाले अबको निर्वाचनमा सिंगल–सिंगल भिडेर एमालेलाई बढार्ने बताउनुभएको थियो ।

    त्यसप्रति आज भक्तपुरबाटै जवाफ दिँदै एमाले अध्यक्ष ओलीले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने बताउनुभयो । उहाँले एमालेलाई बढार्ने सपना देख्नुभन्दा पहिले कांग्रेस कहाँबाट कहाँ पुगिसक्यो भनेर हेक्का राख्न गगनलाई आग्रह गर्नुभयो ।

    ‘हिजो हो कि कहिले, एकजना बाबु घुम्दै यतै भक्तपुर आएछन् । भ्याकुम क्लिनर लिएर आएका । अनि, भ्याकुम क्लिनर लगाएर एमाले सिध्याउने रे । विचरा । सिंगै कांग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना तिनीहरुका’, ओलीले भन्नुभयो ।

    हिजो भक्तपुरमा भाषण गर्दै थापाले एमालेलाई चुनावमा भक्तपुरबाट क्लीन स्वीप गर्ने बताउनुभएको थियो । कतै कुनाकाप्ची बाँकी रहेमा ‘भ्याकुम’ लगाएर बढार्नेसमेत उहाँको दाबी थियो । सिंगल–सिंगल भिडे तेस्रो हुने एमालेले कांग्रेसलाई चुनौती दिनै नसक्ने थापाको भनाइ थियो ।

    गगन थापा लगायत कांग्रेसका नेताहरुले आगामी चुनावमा सिंगल–सिंगल भिडेर एमालेलाई बढार्ने उद्घोष गरिरहेका बेला पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भने चुनावमा गठबन्धन गरेर जाने संकेत गर्नुभएको छ ।

    आज बेलायतबाट फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा देउवाले चुनावसम्म गठबन्धन कायमै रहने भन्दै शंका नगर्न आग्रह गर्नुभयो । सत्तारुढ गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुले आउने चुनावसम्म अहिलेको गठबन्धन कायमै रहने बताइरहेका छन् ।

    तर कांग्रेस नेताहरु भने एक्ला एक्लै लड्नुपर्ने दबाब नेतृत्वलाई दिइरहेका छन् । केन्द्रमा गठबन्धनको सहमति गरे जिल्ला जिल्लाबाट प्रतिवाद गर्ने चेतावनी पनि कांग्रेसीहरुले दिइरहेका छन् ।


    बिहिवार, कार्तिक १८ २०७८०७:२१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij