काठमाडौँ – एकता पक्षधर नेताहरुले माधवकुमार नेपाललाई फेरि पनि एमालेमा फर्किन आग्रह गरिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले भने अब एमालेमा माधवकुमार नेपाल आवश्यक नरहेको बताउनुभएको छ ।
पार्टीमा गुटबन्दी, विरोध र विपक्षीको भन्दा चर्काे आलोचना गर्ने नेता एमालेमा आवश्यक नरहेको ओलीले बताउनुभयो ।
काठमाडौँ जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा आज उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गर्नुभएको थियो ।
नेता नेपाल आफूहरुको नेता भएको, एमाले बनाउन जीवन दिएको भन्दै उहाँले सुदृढ एमाले बनाउन पार्टीमा फर्किएर भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा शाक्यभन्दा पछाडि सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले भने माधव नेपालको एमालेमा काम नभएको बताउनुभयो । उहाँले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गर्ने नेताहरुलाई देखेर आफूलाई अचम्म लाग्ने गरेको बताउनुभयो ।
मुख्यमन्त्री शाक्यप्रति लक्षित हुँदै ओलीले फेरि एमाले फुटाउन माधव नेपाल पार्टीमा चाहिएको हो भन्दै तिखो प्रश्न गर्नुभयो । माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द पनि नबोलेको पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले बताउनुभयो ।
अन्तरसंघर्षका बेला पनि ओलीले माधव नेपालका लागि एमालेको ढोका बन्द भइसकेको बताउँदै आउनुभएको थियो । तर एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल भने फेरि पनि पार्टी एकताका लागि तम्तयार रहको बताइरहनुभएकै छ ।
नयाँ पार्टीको घोषणा गर्नुभन्दा अघिल्लो दिन पनि नेता नेपालले ओली सच्चिए जुनसुकै बेला पनि एकताका लागि तयार रहेको बताउनुभएको थियो । आगामी आम निर्वाचनपछि पनि ओली सुध्रिए सम्मानजनक एकताका लागि आफू तयार रहको उहाँ बतानुहुन्छ ।
पार्टी विभाजनमा माधवकुमार नेपालको साथ नदिएर एमालेमै रहेका कतिपय नेताहरु माधव नेपाललाई पार्टीमै फर्किन आग्रह गरिरहेका छन् । तर भीम रावल लगायत कतिपय नेताहरु केपी ओलीले भन्दा चर्काे गरी उहाँको आलोचनामा उत्रेका छन् ।
जे भए पनि एमालेको नेतृत्वमा ओली रहेसम्म कम्युनिष्ट एकता हुन नसक्ने कतिपय विश्लेषकहरुको दाबी छ ।